 
                                                                        उपत्यकावासीको हर्ष उल्लासको महान् पर्व इन्द्रजात्रा यस वर्ष पनि परम्परागत रीतिरिवाजअनुसार गुठी संस्थानको व्यवस्थापनमा धुमधामका साथ सुरु भएको छ।भाद्र ९ गते बिहान ९ः४६ बजे बनयात्राको शुभसाइतमा गुठी संस्थानका प्रतिनिधि, नेपाली सेना तथा मानन्धर समुदायको टोली भक्तपुर चित्तपोलस्थित इन्द्रजात्रा लिङ्गो सामुदायिक वनतर्फ प्रस्थान गरी पूजाआजा र वृक्षकर्तन सम्पन्न गरेको थियो। सोही दिन बेलुकी ९ः०३ बजे क्षमापूजा सहित सल्लाको रुख काटी लिङ्गो तयार गरिएको हो। त्यसलाई डोरीको सहायताले तानेर भक्तपुर, ठिमी, कोटेश्वर, वानेश्वर हुँदै भाद्र १५ गते बिहान ९ः५२ बजे नगर प्रवेश गराइ हनुमानढोका पुर्याइएको थियो।
भाद्र १९ गते बिहान १०ः३१ बजे क्षमापूजा, होमसहित ध्वजोत्थान सम्पन्न भएपछि औपचारिक रूपमा इन्द्रजात्राको सुरुवात भएको हो। भाद्र २१ गतेदेखि जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा प्रारम्भ भई निरन्तर चल्नेछ। जात्रा भाद्र २६ गते राति १०ः३२ बजे इन्द्रध्वजपतनसँगै समापन गरिनेछ।
इन्द्रजात्रामा लिङ्गो ल्याउने, ध्वजा उठाउने, रथ खट बनाउने, तान्ने लगायतका कार्यमा नेवार समुदायका विभिन्न जातजातिको विशेष जिम्मेवारी रहने परम्परा छ। यस क्रममा पूजाआजा, बाजागाजा, बलि र नेवारी भोजको व्यवस्था समेत गुठी संस्थानले गर्ने गरेको छ।
यस पर्वको ऐतिहासिक तथा धार्मिक महत्वसमेत छ। विभिन्न धर्मग्रन्थमा उल्लेख भएअनुसार देवासुर युद्धमा इन्द्रलाई विजय दिलाउन ध्वजा निर्माण गरिएको प्रसङ्ग पाइन्छ। त्यस्तै, उपत्यकावासीले पारीजात फूल टिपेको आरोपमा इन्द्रलाई बाँधेर राखेपछि आमा वसुन्धराले वर्षा गरिदिने वाचा गरेर मुक्त गराएको मिथक पनि प्रचलित छ। यसलाई कृषि सभ्यतासँग जोडिएको पर्वका रूपमा मानिन्छ।
जात्राभर बसन्तपुर दरबार क्षेत्र, असन, इन्द्रचोक, किलागल, नरदेवी लगायत क्षेत्रमा लाखे, पुलुकिसी, महाकालीनाच, दसावतार नाच, दहचोकस्थित इन्द्रदह मेलाजस्ता सांस्कृतिक गतिविधि सञ्चालन हुनेछन्। विशेषगरी श्वेत भैरवको मुखबाट हथोहाय्केगु (जाँडररक्सी) बगाउने र त्यसलाई प्रसादका रूपमा ग्रहण गर्ने परम्परा पनि यस पर्वको विशेषता हो।
जात्रा अवधिभर कुमारी, गणेश र भैरवका रथलाई नगर परिक्रमा गराइनेछ। अन्तिम दिन “नानिचा याः” अर्थात् तीनै रथलाई किलागल परिक्रमा गराइ लिङ्गो ढालेर बागमतीमा विसर्जन गरेपछि यो वर्षको इन्द्रजात्रा समापन हुनेछ।
गुठी संस्थानको नेतृत्वमा नेपाली सेना, काठमाडौं महानगरपालिका, स्थानीय क्लब, सुरक्षा निकायलगायतको सक्रिय सहभागितामा यो पर्व सम्पन्न हुँदै आएको छ। जयप्रकाश मल्लकालदेखि नै राष्ट्रप्रमुखको उपस्थितिसहित मनाइने परम्परा यसपालि पनि निरन्तरता पाउनेछ।




 
                                                 
                                                 
                                                 
                                                 
                             
                             
                             
                             
                             
                            