Birgunj News24
बाघको आक्रमणमा घाँस काट्न गएका बाराका पुरुषको ज्यान गयोको छ ।

बारा । बाघको आक्रमणबाट बारामा एक पुरुषको ज्यान गएको छ ।

मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ दुइ नम्बर पुल बस्ने ५५ वर्षका कृष्णप्रसाद शर्मा छन् ।

उनी बुधबार बिहान स्कुटर लिएर अमलेखगन्जस्थित आधाभार जङ्गलमा घाँस काट्न गएका थिए । तर उनी अबेरसम्म पनि घर फर्किएनन् । एकाएक बेपत्ता भएपछि उनको छोरा बुबा खोज्न गए । खोज्दै जाँदा जङ्गलभित्र स्कुटर र घाँस भेटिए पनि उनको पत्तो लागेन । मोबाइलमा फोन पनि लाग्यो तर सम्पर्क हुन सकेन अर्थात उठेन । 

त्यसपछि बुबाको खोजी गरिदिन प्रहरी गुहारे । घटनाबारे जानकारी पाएलगत्तै प्रहरीले सर्च अपरेसन सुरु गर्यो र घटनास्थलमा पुग्यो ।  खोजी गर्दै जाँदा जंगलमै चप्पल र केही रगतको दाग समेत भेटायो ।

बुधबार दिउँसो नेपाल प्रहरी तथा आधाभार ब्यारेकबाट खटिएको नेपाली सेनाको संयुक्त टोलीले सडकबाट करिब तीन सय मिटर पूर्वतर्फ जङ्गलभित्र शर्माको शव फेला पारेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शवको टाउको नै गायब छ । शव घोप्टो अवस्थामा फेला पारेको प्रहरीले बताएको छ । ‘शवको प्रकृति हेर्दा जंगली जनावरले तानेर लगेर घटना घटेको देखिन्छ । यो एरियामा पहिले पनि बाघले मान्छे खाएको थियो, त्यहि कारण बाघले नै हो कि भन्नेे प्रारम्भिक अनुमान गरेका छौँ । थप कुरा पोष्टमार्टम रिपोर्टपछि खुल्नेछ,’ एक प्रहरी अधिकारीले भने । 

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा पठाइएको छ । यसबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनायो ।

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update