 
                                                                        नेपाल हुँदै भारतको बिहारमा तीन जना जैश–ए–मोहम्मद समूहका आतंकवादी प्रवेश गरेको सूचना पाएपछि भारतीय सुरक्षाकर्मीहरू हाई अलर्टमा राखिएका छन्। प्रहरी मुख्यालयले गुप्तचर निकायलाई पनि परिचालन गरेको भारतीय मिडियाले जनाएका छन्।
जैश–ए–मोहम्मदका हसनैन अली, आदिल हुसैन र मोहम्मद उस्मान नामका तीनैजना पाकिस्तानी नागरिक हुन्। उनीहरूको भारत प्रवेशको सूचना सुरक्षा निकायमा हलचल उत्पन्न गरेको छ।
हालसम्म नेपाल–भारत सीमाको कुन नाकाबाट उनीहरू प्रवेश गरे र कहिले प्रवेश गरे भन्ने विवरण सार्वजनिक भएको छैन। तर, उनीहरूको हुलिया र परिचय विवरण सबै प्रहरी युनिटमा पठाइएको छ र सतर्क रहन भनिएको छ।
बिहारका सितामढी, मधुबनी, पश्चिम चम्पारण, अररिया, किशनगञ्ज र सुपौल जिल्लाका प्रहरीलाई विशेष सतर्कता अपनाउन निर्देशन दिइएको छ। स्थानीयहरूलाई पनि शंकास्पद गतिविधि देखेमा तुरुन्तै प्रहरीमा खबर गर्न आह्वान गरिएको छ।
यस अघि सन् २०२४ मा पनि नेपालबाट प्रवेश गरेको आशङ्कामा तीन आतंकवादी भारतीय सुरक्षाकर्मीहरूले पक्राउ गरेका थिए।




 
                                                 
                                                 
                                                 
                                                 
                             
                             
                             
                             
                             
                            