
वीरगञ्ज, भदौ १०, आनन्द पटेल
वीरगञ्जको ऐतिहासिक पहिचान र गौरवको प्रतीक घण्टाघर करिब आठ महिनादेखि हरियो घुम्टाले ढाकिएको अवस्थामा थियो। विगत वर्ष भएको क्षति एवं संरचनागत समस्या कारण घण्टाघर छतिग्रस्त भएपछि त्यसको संरक्षण तथा मर्मत–सम्भार कार्य थालिएको हो।
स्थानीय प्रशासन, नगरपालिकासहित सम्बन्धित निकायको समन्वयमा करिब एक महिना अघिदेखि मर्मत कार्य तीव्र गतिमा अघि बढिरहेको छ। यसै क्रममा अहिले घुम्टो (हरियो पर्दा) बिस्तारै खोलिन थालेको छ। निर्माण कम्पनीका प्राविधिकले जानकारी दिएअनुसार आउँदो दशैंअघि सम्पूर्ण घुम्टो हटाइनेछ र घण्टाघर पुरानै सौन्दर्यका साथ देखिनेछ।
करिब ८० वर्ष पुरानो यो घण्टाघर वीरगञ्जको मुटु मानिन्छ। यो केवल समय बताउने संरचना मात्र नभई वीरगञ्जवासीहरूको गौरव, इतिहास र संस्कृतिसँग जोडिएको धरोहर हो। शहर प्रवेश गर्ने पाहुनादेखि यहाँ बस्ने नागरिकसम्म सबैका लागि यसको विशेष महत्व छ।
मर्मत कार्यमा मुख्यतया क्षतिग्रस्त भित्ता, पर्खाल र सजावटी भागलाई मजबुत बनाउने,ऐतिहासिक स्वरूप जोगाउँदै आधुनिक प्रविधिबाट टिकाउ बनाउने,वरिपरि सौन्दर्यीकरण र प्रकाश व्यवस्थासमेत सुधार गर्ने काम भइरहेको छ।
नगरवासीहरू लामो समयदेखि प्रतीक्षा गरिरहेका थिए। अहिले बिस्तारै घण्टाघरको मूल आकृति देखिन थालेपछि वीरगञ्जवासी उत्साहित भएका छन्। स्थानीय व्यापारी तथा नागरिकहरूले दशैंतिहारको अवसरमा पुरानै स्वरूपमा देखिने घण्टाघरले शहरको रौनक पुनः फर्किने अपेक्षा व्यक्त गरेका छन्।
संरक्षण समितिका अनुसार मर्मत कार्य पूरा भएपछि घण्टाघर झन् आकर्षक र मजबुत बन्नेछ। यसले केवल वीरगञ्जकै नभई सम्पूर्ण तराई-मधेसको सांस्कृतिक धरोहरलाई नयाँ ऊर्जा दिनेछ।अब केही हप्तामै वीरगञ्जवासीले घण्टाघरलाई पहिलेजस्तै, अझ भव्य रूपमा अवलोकन गर्न सक्नेछन्।