 
                                                                        ९ भदौ परवानीपुर , आनन्द पटेल
परवानीपुर गाउँपालिका अध्यक्ष श्री रामक्षत्री प्रसाद कुर्मीको नेतृत्वमा आइतबार वडा नं. ३ लिपनीमालस्थित बजार क्षेत्रमा हैजा नियन्त्रणका लागि विशेष अनुगमन तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । हाल वीरगञ्ज लगायतका विभिन्न क्षेत्रमा हैजाको सङ्क्रमण बढ्दै गएको सन्दर्भमा गाउँपालिकाले व्यापारी तथा स्थानीय बासिन्दालाई हैजाबारे सचेत बनाउने उद्देश्यसहित बजार क्षेत्रमा अनुगमन टोली खटाएको हो ।
अनुगमन टोलीमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना रौनियार, स्वास्थ्य शाखाका कर्मचारीहरू, वडा नं. ३ का वडा अध्यक्ष इब्राहीम देवान, पालिकाका विभिन्न कर्मचारीहरू लगायतको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रमका क्रममा टोलीले बजार क्षेत्रमा सरसफाइको अवस्था अवलोकन गर्नुका साथै व्यापारी र सर्वसाधारणलाई हैजा कसरी फैलिन्छ, यसको लक्षणहरू के–के हुन् र यसबाट बच्न के–के उपाय अवलम्बन गर्न सकिन्छ भन्नेबारे जानकारी गराएको थियो ।
यस अवसरमा गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले भने, “हालको परिस्थितिमा सबैभन्दा ठूलो जिम्मेवारी सजग र सचेत रहनु हो । हैजा पानी र सरसफाइसँग प्रत्यक्ष जोडिएको रोग हो, त्यसैले प्रत्येक नागरिकले खानपानमा विशेष ध्यान दिनुपर्छ । गाउँपालिकाले स्वास्थ्य सुरक्षा सम्बन्धी गतिविधिलाई अझ प्रभावकारी बनाउन निरन्तर काम गरिरहेको छ ।”
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत मुन्ना रौनियारले बजार क्षेत्रमा सरसफाइमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै भने, “हाम्रो बजार मात्रै होइन, घर–घरमा सफाइमा चासो दिनुपर्छ । ढल, फोहोर, फोहरपानीलाई व्यवस्थापन नगरे हैजा नियन्त्रण कठिन हुन्छ । गाउँपालिकाले सरसफाइ अभियानलाई निरन्तरता दिनेछ ।”
वडा नं. ३ का वडा अध्यक्ष इब्राहीम देवानले स्थानीय बासिन्दालाई सरसफाइमा सक्रिय भूमिका खेल्न आग्रह गर्दै भने, “सरकार वा पालिकाले मात्रै प्रयास गरेर हैजा नियन्त्रण हुँदैन, जबसम्म स्थानीयले आफैं सचेत हुँदैनन् । खानेपानी उमालेर मात्र पिउनुहोस्, पुराना खाद्य सामग्री तथा सडकछाप खाद्य पदार्थ सेवन नगर्नुहोस् भन्ने हाम्रो प्रमुख सन्देश हो ।”
अनुगमन टोलीले बजारका पसलहरूमा पानी, खानेकुरा, भाँडाकुँडाको सरसफाइ अवस्था जाँचेर आवश्यक सुझाव प्रदान गरेको थियो । साथै, हैजा संक्रमण देखिए तत्काल नजिकको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीलाई सम्पर्क गर्न आग्रह गरिएको थियो ।




 
                                                 
                                                 
                                                 
                                                 
                             
                             
                             
                             
                             
                            