 
                                                                        रौतहट । आनन्द पटेल
रौतहट जिल्लाको गौर नगरपालिका–९ गौरसिर्सिया सडक खण्ड अन्तर्गत मुडवालाबा मोड नजिक हिजो राति एक वेवारिसे सुटकेस फेला परेको थियो। स्थानीयवासीले शंका गरी प्रहरीलाई खबर गरेपछि सुटकेस खोल्दा भित्र एक महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रहरीका अनुसार शव फेला परेकी महिलाको हालसम्म कुनै पनि पहिचान खुल्न सकेको छैन। प्रारम्भिक अनुसन्धानका क्रममा महिलाको उमेर करिब २५–३० वर्षको हाराहारीमा देखिएको बताइएको छ। शवलाई पोस्टमार्टमका लागि गौर अस्पतालमा पठाइएको छ।
घटनास्थल तत्कालै नियन्त्रणमा लिएर प्रहरीले विस्तृत अनुसन्धान सुरु गरेको छ। आसपासका क्षेत्रमा रहेको CCTV फुटेज, साक्षीका भनाइ र अन्य तथ्यका आधारमा घटनाको वास्तविकता पत्ता लगाउने कार्य जारी रहेको प्रहरीले जनाएको छ।
स्थानीयवासीले यस्तो घटनाले गौर क्षेत्रमा त्रासको माहोल पैदा गरेको बताएका छन्। प्रहरी प्रशासनले भने अपराधीलाई छिट्टै पक्राउ गरी घटनाको पूर्ण सत्यतथ्य सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ ।




 
                                                 
                                                 
                                                 
                                                 
                             
                             
                             
                             
                             
                            