 
                                                                        वीरगञ्ज : वीरगञ्जका अस्पतालमा पछिल्लो केही दिनयता झाडा–पखालाका बिरामी तीव्र रूपमा बढेका छन्। लक्षणका आधारमा हैजाको शंका गरिँदै आएकोमा नारायणी अस्पतालमा गरिएको परीक्षणमा ८ जनामध्ये ५ जनामा हैजा पुष्टि भएको नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा. उदय नारायण सिंहले बताए। डा. सिंहका अनुसार झाडा–पखालाका बिरामी दैनिक दर्जनौँ संख्यामा भर्ना हुन थालेका छन्।
हैजाको पुष्टि भएपछि थप सतर्कता अपनाइएको डा. सिंहले जनाएको छन् । अस्पतालमा उपचाररत बिरामीमध्ये बालबालिका, महिला र वृद्धको संख्या उल्लेख्य रहेको छ।डा. सिंहले सर्वसाधारणलाई आत्तिन नहुने तर आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्। विशेषगरी, पिउने पानी उमालेर वा निर्मलीकरण गरेर मात्र सेवन गर्न तथा पखाला लागेमा प्रशस्त मात्रामा जीवनजल पिउन सुझाव दिइएको छ।
“जीवन जल नै यस्तो अवस्थामा सबैभन्दा प्रभावकारी उपचार हो, जसले शरीरमा पानी र नुनको कमी हुनबाट जोगाउँछ,” डा. सिंहले बताए।
स्वास्थ्य कार्यालय पर्साले आकस्मिक बैठक बसेर निगरानी र नियन्त्रणका लागि टोली परिचालन गर्ने तयारी गरेको जनाएको छ। जोखिमलाई मध्यनजर गर्दै टोल–टोलमा सचेतना अभियान र पानी–खाने पदार्थको परीक्षण गर्ने कार्यक्रम सञ्चालन गर्ने योजना पनि बनाइएको छ।




 
                                                 
                                                 
                                                 
                                                 
                             
                             
                             
                             
                             
                            