 
                                                                        वीरगञ्ज — लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी र लायन्स क्लब अफ वीरगञ्ज विजयपथले आज संयुक्त रुपमा बालबालिकाको दन्त स्वास्थ्य सुदृढीकरण र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले किड्स डेन्टल क्याम्पको आयोजना गरेका छन् ।
वीरगञ्जको अशोक वाटिकामा रहेको वीरगञ्ज मन्टेशरी स्कुलमा आयोजित डेन्टल क्याम्पमा वरिष्ठ दन्त विशेषज्ञ डा. प्रेरणा सिंह परमार र डा. सुरभी सिंहको टोलीले स्कुलका ७० जना बालबालिकाहरुको दन्त परीक्षण तथा आवश्यक परामर्श प्रदान गरेका थिए । साथै दाँत सफा राख्ने सही तरिका, खानपानमा ध्यान दिनुपर्ने बानी र नियमित दन्त परीक्षणको महत्वबारे सचेतनामूलक जानकारी समेत दिइएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘एस’ का डिष्ट्रिक्ट गभर्नर एमजेएफ लायन बिनय बस्नेतले बालबालिकाको स्वास्थ्यमा दन्त स्वच्छताको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै यस्ता सेवा–मुखी कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी र लायन्स क्लब अफ वीरगञ्ज विजयपथले देखाएको सक्रियता र समर्पणको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता स्वास्थ्यमूलक अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा क्लबका पदाधिकारीहरूले बालबालिकाको स्वास्थ्य सुधार र उज्ज्वल भविष्यका लागि यस्ता सामाजिक सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमीकी अध्यक्ष लायन पिया सिंहको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘एस’ का डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी लायन सार्जन चापागाईं, क्याबिनेट ट्रेजर लायन चन्द्र बहादुर के.सी., डिष्ट्रिक्ट चिफ लायन आशमा सिंह यादव, वीरगञ्ज मन्टेशरी स्कुलकी संचालिका प्रियंका गुप्ता, अभिभावक निभा मिश्रा, क्लबका प्रथम उपाध्यक्ष लायन प्रभात आनन्द सिंह, ट्रेजर प्रसिद्धि आनन्द सिंह लगायत स्कुलका शिक्षिकाहरुको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजीकरण लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘एस’ का डिष्ट्रिक्ट डेपुटी चिफ लायन विजय कुशवाहाले गरेका थिए ।




 
                                                 
                                                 
                                                 
                                                 
                             
                             
                             
                             
                             
                            