 
                                                                        वीरगञ्ज, ५ भदौ
विद्यालय शिक्षा विधेयकलाई बिहीबार अन्तिम रूप दिने तयारी भइरहेका बेला देशभरका निजी विद्यालय सञ्चालकहरू विरोधमा उत्रिएका छन्। सोही सन्दर्भमा निजी तथा आवासीय विद्यालय सञ्चालकहरूको छाता संगठन प्याब्सन, एनप्याब्सन, हिसान, अपेन लगायतका संस्थाहरूको आव्हानमा बिहीबार काठमाडौंको माइतीघर मण्डलामा विद्यालय सञ्चालक, प्रिन्सिपल तथा शिक्षकहरूले प्रदर्शन गरेका हुन्।
‘गैरनाफामूलक चाहिँदैन, कम्पनी मास्न पाइँदैन’, ‘पूर्ण छात्रवृत्ति लाद्न पाइँदैन, निजी विद्यालय मास्न पाइँदैन’, ‘निजी विद्यालयको योगदान, मजबुत अर्थतन्त्रको निर्माण’, ‘अभिभावकको पहिलो रोजाइ, निजी विद्यालयको पढाइ’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरूले सरकारको ध्यानाकर्षण गराएका थिए।
त्यसै क्रममा पर्साबाट पनि विद्यालय सञ्चालकहरूको प्रतिनिधि टोलीले काठमाडौं पुगेर प्रदर्शनमा सहभागिता जनाएको छ। प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी, महानगर अध्यक्ष राहुल श्रीवास्तव, केन्द्रीय सदस्य छेडुप लामा, जिल्ला सदस्य शुल्भ केसी, विजय कुमार बललगायतको नेतृत्वमा ब्यानरसहित टोलीले शान्तिपूर्ण तरिकाले आफ्नो धारणा व्यक्त गरेको हो।
विद्यालय सञ्चालकहरूको आरोप छ कि सरकारले ल्याउन लागेको शिक्षा विधेयकले निजी विद्यालयहरूको अस्तित्व नै संकटमा पार्ने खालका प्रावधानहरू राखेको छ। उनीहरूले सरकारले शिक्षा क्षेत्रमा निजी क्षेत्रको दशकौँको योगदानलाई नमान्ने जस्तो व्यवहार गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
सञ्चालकहरूले भने, “निजी विद्यालयलाई कम्पनीका रूपमा चलाउने अधिकार खोस्ने, जबर्जस्ती पूर्ण छात्रवृत्ति लाद्ने र गैरनाफामूलक बनाउन खोज्ने जस्ता प्रावधान अस्वीकार्य छन्। राज्यले पनि बुझ्नुपर्छ, निजी विद्यालयहरूले देशमा गुणस्तरीय शिक्षा, रोजगारी र अर्थतन्त्रमा ठूलो योगदान दिएका छन्।”
उनिहरूले सरकारलाई शिक्षा विधेयकलाई पुनर्विचार गरी सबै सरोकारवालासँग छलफल गरेर अघि बढाउन माग गरेका छन्।




 
                                                 
                                                 
                                                 
                                                 
                             
                             
                             
                             
                             
                            