 
                                                                        नेपाल पत्रकार महासंघ, मधेश प्रदेश र नेपाल बार एसोसिएशन, जनकपुरधामबीच लामो समयदेखि जारी जग्गा विवाद अन्ततः आपसी सहमतिमा टुंगिएको छ। उच्चस्तरीय वार्ता समितिको प्रयास र सफल मध्यस्थतापछि मंगलवार ऐतिहासिक मिलापत्रमा हस्ताक्षर गर्दै विवाद समाधान भएको हो।
सम्झौतामा पत्रकार महासंघ, मधेश प्रदेशका अध्यक्ष श्यामप्रसाद बन्जारा र बार एसोसिएशन, जनकपुरधामका अध्यक्ष अधिवक्ता विमलकुमार मिश्रले हस्ताक्षर गरेका छन्। सहमति अनुसार गुठी संस्थानबाट लिजमा लिइएको जग्गा दुवै संस्थाले आपसी हितअनुसार बाँडफाँट गरी प्रयोग गर्ने भएका छन्। बार एसोसिएशनले तोकिएको क्षेत्र पार्किङका लागि प्रयोग गर्नेछ भने बाँकी जग्गा पत्रकार महासंघले बहुउद्देश्यीय कार्यक्रम सञ्चालन गर्न प्रयोग गर्नेछ।
सम्झौतामा विवादका क्रममा भएका घटनाप्रति दुवै पक्षले दुःख व्यक्त गर्दै घाइतेहरुको स्वास्थ्य लाभको कामना गरेका छन्। साथै, एकअर्काविरुद्ध सामाजिक सञ्जालमा आलोचनात्मक सामग्री सम्प्रेषण नगर्ने र दुई दिनभित्र दर्ता भएका सबै कानुनी कारबाही फिर्ता लिने वा कानून बमोजिम निस्क्रिय बनाउने सहमति भएको छ।
बार एसोसिएशनतर्फबाट अधिवक्ता बाबुराम अर्यालको संयोजकत्वमा वरिष्ठ अधिवक्ता चन्द्रकुमार शर्मा मैनाली र श्यामकुमार मिश्र सदस्य रहेका थिए। त्यस्तै, पत्रकार महासंघतर्फबाट केन्द्रीय लेखा समिति संयोजक के.सी. लामिछानेको संयोजकत्वमा केन्द्रीय सदस्य राजेशकुमार कर्ण र राजु विश्वकर्मा सदस्य थिए।




 
                                                 
                                                 
                                                 
                                                 
                             
                             
                             
                             
                             
                            