Birgunj News24
वीरगंजबाट प्रकाशन हुँदै आएको प्रतिक दैनिकले आइतबार आफ्नो ३९औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ।

वीरगंजबाट प्रकाशन हुँदै आएको प्रतिक दैनिकले आइतबार आफ्नो ३९औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ। वीरगंज–१५ स्थित ज्येष्ठ नागरिक पार्क, लक्ष्मणवामा आयोजित समारोहमा विभिन्न सञ्चारमाध्यमसँग आबद्ध व्यक्तित्व, कर्मचारी तथा विशिष्ट अतिथिहरूको बाक्लो उपस्थिति थियो।

कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह रहेका थिए। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्र, मधेश विश्वविद्यालयका उपकुलपति डा। दीपक शाक्य लगायतकाले धारणा राखेका थिए । 
‘प्रतिक प्रकाशन समूह’की अध्यक्ष बिन्दु शर्माको अध्यक्षतामा सम्पन्न सो समारोहमा ३८ वर्षको यात्रा पूरा गरी ३९औं वर्ष प्रवेशको उपलक्ष्यमा विभिन्न सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । 

यस वर्षको स्व। सुबोध स्मृति पत्रकारिता पुरस्कार अन्नपूर्ण पोस्टका पत्रकार क्रान्ति शाहलाई नगद रु। ५१,००० सहित प्रदान गरिएको छ। प्रतीक दैनिकको उत्कृष्ट संवाददाताका रुपमा प्रमोद यादवलाई पनि नगद १५ हजार रुपैयाँसहित सम्मानित गरिएको छ । 
यस्तै उत्कृष्ट स्तम्भकारका रुपमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष समेत रहेका ओमप्रकाश खनाललाई नगद १० हजार र स्व। चीरञ्जीवी कोइराला स्मृति पत्रकारिता पुरस्कारबाट युवा पत्रकार सूर्यनारायण विकलाई नगद १५ हजार रुपैयाँसहित सम्मानित गरिएको छ । कार्यक्रममा प्रतीक दैनिकका कर्मचारी श्यामजी प्रसाद गुप्तालाईपनि नगद ५ हजार रुपैयाँसहित पुरस्कृत गरिएको प्रतीक दैनिकका उपसम्पादक आरके पटेलले जानकारी दिए । यस्तै स्तम्भाकर अनन्तलाल दासलाई पनि दोशल्ला ओढाएर सम्मानित गरिएको थियो ।

कार्यक्रममा वक्ताहरूले प्रतिक दैनिकले विगत लामो समयदेखि सत्य, निष्पक्ष र जिम्मेवार पत्रकारिताको अभ्यास गर्दै आएको भन्दै प्रशंसा गरेका थिए। उनीहरूले दैनिकले आगामी दिनमा अझ सशक्त भूमिकासहित समाजलाई सूचित र सचेत बनाउने विश्वास व्यक्त गरे।

 प्रतिक दैनिकका प्रधान सम्पादक जगदीशप्रसाद शर्माले विगतदेखि हालसम्म साथ दिँदै आएका पाठक, विज्ञापनदाता, सञ्चारकर्मी तथा कर्मचारीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ पाठकमैत्री र गुणस्तरीय सामग्री प्रकाशन गर्ने प्रतिबद्धता जनाए।

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  १९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update