Birgunj News24
वीरगञ्जमा नेपाल इन्जिनियर्स एसोसिएसनको निर्वाचन : गठबन्धन समूह विजयी ।

नेपाल इन्जिनियर्स एसोसिएसन वीरगञ्ज केन्द्रको कार्यकारिणी समितिको निर्वाचनमा गठबन्धन समूहका उम्मेदवारहरूले विजय हासिल गरेका छन्। विभिन्न राजनीतिक दलसँग निकट मानिने इन्जिनियर्स सङ्गठनको गठबन्धनबाट उम्मेदवारी दिएका उम्मेदवारहरूले स्वतन्त्र प्यानललाई पराजित गर्दै समितिमा आफ्नो वर्चस्व कायम गरेका हुन्।

निर्वाचनमा सभापतिमा गठबन्धन समूहका प्रियान्शु गुप्ता रौनियार १२६ मतसहित विजयी भए। उनले निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र प्यानलका धिरज कुमार साहलाई ३० मतको अन्तरले पछि पारे। साहले ९६ मत पाए।

त्यस्तै, उपसभापतिमा गठबन्धन समूहकै श्याम किशोर प्रसाद दास १२६ मतसहित निर्वाचित भए भने उनका प्रतिद्वन्द्वी अभिषेक कुमार गुप्ताले ९८ मत प्राप्त गरे। सचिवमा मनिष प्रसाद केशरी १३० मतसहित विजयी भए भने कोषाध्यक्षमा मोहम्मद इकवाल हुसेन ११९ मत ल्याउँदै विजयी बने।

सदस्यतर्फ गठबन्धन समूहका रबी कुमार पटेल, रुपेश कुमार चौरसिया, राज गिरी, कृष्णा सर्राफ र राम श्याम कुमार यादव निर्वाचित भए।

निर्वाचन वीरगञ्ज इन्स्टिच्युट अफ टेक्नोलोजी (BIT) कलेजमा शुक्रबार सम्पन्न भएको थियो। शुक्रबार राति सुरु गरिएको मतगणनाको परिणाम शनिबार बिहान सार्वजनिक गरिएको हो।

जितसँगै गठबन्धन समूहको एकता र सङ्गठनप्रतिको प्रतिबद्धता उजागर भएको समाजवादी इन्जिनियर नेपालका केन्द्रीय उपाध्यक्ष इ. राजेश यादवले बताए। उनले नवनिर्वाचित समितिले इन्जिनियर्सहरूको हकहित र व्यावसायिक विकासमा महत्त्वपूर्ण योगदान दिने अपेक्षा व्यक्त गरे।

निर्वाचन शान्तिपूर्ण र सभ्य भव्य रूपमा सम्पन्न भएको डा. हरि शंकर साहले बताए। उनले BIT कलेजका प्रिन्सिपल इन्जिनियर निरज श्रीवास्तव र निर्वाचन अधिकृत इन्जिनियर आत्माराम साहको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे।

प्रकाशित मिति: शनिबार, साउन ३१, २०८२  १७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update