Birgunj News24
जनकपुरमा पत्रकारमाथि आक्रमण, क्रियाशील युवा पत्रकार मञ्चको भर्त्सना।

जनकपुर, साउन २७ — जनकपुरमा नेपाल पत्रकार महासंघ मधेस प्रदेशको भवन निर्माण स्थलमा वकिलहरूको समूहले अवैध कब्जा गर्दै पत्रकारमाथि आक्रमण गरेको घटनाप्रति क्रियाशील युवा पत्रकार मञ्च नेपालले गम्भीर ध्यानाकर्षण गराएको छ।

मञ्चका अनुसार, गुठी संस्थानसँग सम्झौता गरेर भवन निर्माणका लागि प्राप्त जग्गामा निर्माण कार्य भइरहेको बेला वकिलहरूको समूहले हस्तक्षेप गर्दै पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जारा, महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’, पत्रकार दिवाकर राय लगायतका सञ्चारकर्मीमाथि कुटपिट गरेको हो। घटनामा घाइते पत्रकारहरू हाल जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचाररत छन्।

मञ्चले जारी गरेको विज्ञप्तिमा यो आक्रमणलाई प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यतामाथि सीधा प्रहारको रूपमा वर्णन गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “यस प्रकारका आपराधिक गतिविधि, धम्की र दमनको हामी कडा शब्दमा भर्त्सना गर्दछौं।”

मञ्चले आक्रमणमा संलग्न व्यक्तिहरूलाई तत्काल कानुनी कारबाही गर्न र पीडित पत्रकारलाई न्याय दिलाउन सम्बन्धित निकायसँग आग्रह गरेको छ। साथै, पत्रकारको सुरक्षा सुनिश्चित गर्न, प्रेस स्वतन्त्रताको सम्मान गर्न र दोषीलाई कारबाही गर्न राज्यको जिम्मेवारी स्मरण गराएको छ।

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  १८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update