
बारा । विश्वप्रसिद्ध गढीमाई मन्दिर परिसरको सौन्दर्य र वातावरणीय सन्तुलनलाई बढावा दिन महागढीमाई फाउण्डेशनले बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।
‘स्वच्छ वातावरण, समृद्ध समाज’ भन्ने मूल नाराका साथ आयोजित यस कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
यस अभियानलाई सफल बनाउन वर्ल्ड लिंक बाराले सहयोग गरेको थियो भने महागढीमाई नगरपालिकाले सहकार्य गरेको थियो। कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस बारा जिल्ला सचिव भैयाराम यादवले वातावरण संरक्षणको महत्वमाथि प्रकाश पार्दै भने, ‘हरियाली विकास बिना समृद्धि सम्भव छैन।’ उनले यस्ता अभियानले केवल वृक्ष रोप्नुमा सीमित नभई यसले जीवनशैली र समाज रूपान्तरण गर्न पनि सहयोग पुग्ने बताए। यादवले गढीमाई मन्दिर परिसरको सुन्दरता बढाउने यस प्रयासको लागि आयोजक संस्थालाई धन्यवाद दिए।
खल्ती एप्लिकेसनका सह–संस्थापक अरबिन्द साहले वृक्षारोपणले गढीमाईको सुन्दरता बढाउनुका साथै धार्मिक, सांस्कृतिक पर्यटन विकासमा पनि टेवा पुग्ने विश्वास व्यक्त गरे। उनले फाउण्डेशनले गरिरहेको सामाजिक कार्यको प्रशंसा गर्दै खुसी व्यक्त गरे।
कार्यक्रममा पूर्व वडा अध्यक्ष बिरेन्द्र चौरसिया, वर्ल्ड लिंक बाराका ब्रान्च म्यानेजर प्रदीप साह, समाजसेवी जितेन्द्र गुप्ता, श्री गढीमाई नमूना माविका प्रधानाध्यापक धर्मेन्द्र यादव, लगायत विभिन्न सामाजिक र राजनीतिक व्यक्तित्वहरूको उपस्थिति थियो। सहभागी सबैलाई गमछा र सम्मान पत्र प्रदान गरी सम्मान गरिएको थियो।
महागढीमाई नगरपालिकाको वडा नं. १ स्थित विश्व प्रसिद्ध गढीमाई मन्दिर परिसरमा भएको यस कार्यक्रमको अध्यक्षता फाउण्डेशनका संयोजक सुनील कुशवाहाले गरेका थिए भने सञ्चालन जयराम कुशवाहाले गरेका थिए।
वृक्षारोपणमा विभिन्न जातजाति र समुदायका स्थानीय युवाहरूको सक्रिय सहभागिताले सामाजिक ऐक्यबद्धताको उदाहरण प्रस्तुत गर्यो। फाउण्डेशनले भविष्यमा पनि यस्तै वातावरणमैत्री र समाज सेवामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ, जसले गर्दा स्थानीय वातावरणमा सकारात्मक परिवर्तन आउने र प्राकृतिक सन्तुलन कायम राख्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।