
सुनसरी । जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–३ स्थित रहेको पूर्व–पश्चिम लोकमार्गमा यात्रुबाहक बस र विंगर आपसमा ठोक्किँदा ४ जनाको घटना स्थलमै मृत्यु भएको छ भने झण्डै डेढ दर्जन घाइते भएका छन्।
काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ आउँदै गरेको मे १ ख १७९९ नम्बरको बस र राजविराजबाट विराटनगरतर्फ जाँदै गरेको प्र २–०१–००१ ज ००४७ नम्बरको विंगर सोमबार बिहान एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
मृतकमध्ये दुई जनाको सनाखत भएको छ। मृत्यु हुनेमा सुनसरीको कोशी गाउँपालिका–६ बस्ने ७० वर्षीय लक्ष्मण सदा र सप्तरीको महादेवा गाउँपालिका–६ का ३५ वर्षीय शंकर मण्डल रहेको प्रहरीले जनाएको छ। अन्दाजी ४० वर्षीया एक महिला र एक पुरुषको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
घाइतेमध्ये १० जना सप्तरीकै रहेका छन्। उनीहरूमा महादेवा गाउँपालिका–६ का रविन्द्र प्र. मण्डल र रविन्द्र मेहता, तिरहुत गाउँपालिका–३ का ६८ वर्षीय जिवछ महात्मा, राजविराज नगरपालिका–६ का १० वर्षीय रुद्र राय, राजविराज–१२ का ४४ वर्षीय प्रमोद रजक, राजविराज–०२ का २४ वर्षीय भोला यादव, ३५ वर्षीय प्रदीप यादव, विंगरका सहचालक राजविराज–०४ का २१ वर्षीय सन्तोष बास्तोला, डाक्नेश्वरी नगरपालिका–३ की ३० वर्षीया अमृता राय र तिलाठी कोइलाडी गाउँपालिका–५ का २२ वर्षीय रवि राय छन्।
घाइतेहरूको बि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र विराटनगरको विभिन्न अस्पतालमा उपचार भइरहेको र केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। दुर्घटनाको कारण प्रारम्भिक रूपमा तीव्र गतिका कारण भएको अनुमान गरिएको छ भने विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।