Birgunj News24
पानीको समस्याले बौद्धी माई टोलबासी चिन्तित।

वीरगञ्ज, साउन २५ –
वीरगञ्ज महानगरका अधिकांश क्षेत्रमा डिप बोरिङमार्फत खानेपानीको समस्या स्थायी रूपमा समाधान भए पनि वार्ड नं. १४ अन्तर्गतको बौद्धी माई टोलमा भने महिनौं बितिसक्दा पनि समस्या यथावत् छ।

पिपरामा पर्ने यस टोलमा धार्मिक स्थल बौद्धी माई मन्दिर र नयाँ बस्ती दुवै क्षेत्र पर्छन्। यहाँका दर्जनौं घरपरिवारले खाना पकाउन, नुहाउन तथा दैनिक कार्यका लागि पानीको गम्भीर अभाव झेलिरहेका छन्। मन्दिरमा दैनिक सयौंको संख्यामा आउने स्थानीय र भक्तजनहरू प्यास मेटाउन मिनरल वाटर खरिद गर्न वा करिब ५०० मिटर टाढाबाट बोतलमा पानी ल्याउन बाध्य छन्।

मन्दिरका पुजारी र स्थानीय बासिन्दाहरूले खानेपानी मन्त्रीको निवास राधेमाई पुगेर समस्या राखेका थिए। साथै, वडासमिति र सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराइए पनि यहाँ डिप बोरिङको व्यवस्था गरिएको छैन।

वडास्तरबाट अस्थायी रूपमा कहिले बिहान ८ बजे, कहिले दिउँसो २ बजे ट्यांकरमार्फत पानी वितरण गरिने गरे पनि यो पर्याप्त नपरेको स्थानीयको गुनासो छ।

पानीको दीर्घकालीन अभावका कारण स्थानीय बासिन्दा मात्र होइन, मन्दिरमा पूजा–पाठ गर्न आउने भक्तजनहरू पनि असुविधामा परिरहेका छन्। टोलबासीहरूले शीघ्र स्थायी समाधानको माग गरेका छन्।

प्रकाशित मिति: आइतबार, साउन २५, २०८२  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update