
जनकपुरधाम । मधेश प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालयले माध्यमिक तह (कक्षा ९–१०) का लागि ८२ जना स्वयंसेवक शिक्षक भर्नाका लागि आवेदन आह्वान गरेको छ।
मन्त्रालयको आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत ‘स्वयंसेवक शिक्षक कार्यक्रम’ सञ्चालन गर्न उक्त पदपूर्तिको प्रक्रिया अघि बढाइएको हो। आवेदन दिन इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले २०८२ साउन २५ देखि भदौ ८ गतेसम्म मन्त्रालयमा दरखास्त फाराम बुझाउन सक्नेछन्।
विज्ञापन अनुसार नेपाली, अङ्ग्रेजी र विज्ञान विषयका लागि २०–२० जना र गणित विषयका लागि २२ जनाको माग गरिएको छ । शिक्षक भर्नाका लागि २१ वर्ष पूरा भई ५८ वर्ष ननाघेको, सम्बन्धित विषयमा स्नातक वा सो सरहको योग्यता हासिल गरेको र स्थायी अध्यापन अनुमतिपत्र भएको हुनुपर्नेछ। साथै, नैतिक पतन देखिने फौजदारी अभियोगमा दोषी नठहरिएको र भविष्यमा सरकारी सेवाका लागि अयोग्य नभएको हुनुपर्ने मापदण्ड तोकिएको छ।
छनोट प्रक्रिया लिखित (वस्तुगत) परीक्षा र अन्तर्वार्तामा आधारित हुनेछ। परीक्षाको पाठ्यक्रम शिक्षक सेवा आयोगको माध्यमिक तहको पाठ्यक्रममा आधारित हुनेछ भने परीक्षाको मिति पछि तोकिनेछ। स्वयंसेवक शिक्षकलाई मासिक निर्वाह भत्ता र अन्य सुविधा ‘प्रदेश स्वयंसेवक शिक्षक परिचालन (प्रथम संशोधन) कार्यविधि, २०८१’ अनुसार प्रदान गरिने मन्त्रालयले जनाएको छ।