Birgunj News24
नेपालकै एक मात्र भोजपुरी भाषामा प्रकाशित भोजपुरी टाइम्स दैनिकको १२औं वार्षिकोत्सव सुक्रबार वीरगञ्जमा भव्य रूपमा सम्पन्न भएको छ।

वीरगञ्ज, साउन २३ —  आनन्द पटेल 

नेपालकै एक मात्र भोजपुरी भाषामा प्रकाशित भोजपुरी टाइम्स दैनिकको १२औं वार्षिकोत्सव सुक्रबार वीरगञ्जमा भव्य रूपमा सम्पन्न भएको छ। ११ वर्षको निरन्तर प्रकाशनपछि पत्रिका १२औं वर्षमा प्रवेश गरेको अवसरमा, जनजाति कल्याण आश्रम नेपाल, पर्सास्थित असहाय बालबालिकाहरूलाई खाद्यान्न (दाल, चामल, आलु, प्याज) तथा शैक्षिक सामग्री वितरण गरिएको थियो।

समारोहका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बञ्जाराले भोजपुरी टाइम्स दैनिकको ११ वर्षको यात्रा भाषिक पत्रकारिताको क्षेत्रमा प्रेरणादायी भएको बताए। उनले भने, “आजको प्रतिस्पर्धी मिडिया बजारमा एउटै टिमले ११ वर्षसम्म निरन्तर प्रकाशन गर्नु आफैंमा ठूलो उदाहरण हो। यो केवल पत्रकारिताको यात्रा मात्र होइन, भाषाको अस्तित्व र पहिचानको संघर्षको यात्रा हो। भोजपुरी टाइम्सले मातृभाषाको पत्रकारितालाई राष्ट्रिय मञ्चमा पुर्‍याउन सफल भएको छ।"

उनले थपे, “पत्रकारिताको माध्यमबाट समाजमा चेतना फैलाउने काम गर्ने यो पत्रिकाले आज बालबालिकाहरूको लागि खाद्यान्न र शैक्षिक सामग्री वितरण गरेर मानवीय संवेदनशीलताको अद्भुत उदाहरण प्रस्तुत गरेको छ। म आशा गर्छु, आगामी वर्षहरूमा पनि यो पत्रिका सत्य, तथ्य र निष्पक्षताका आधारमा अझ मजबुत रूपमा अघि बढ्नेछ।”

विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालले पत्रिकाले भाषिक विविधता र सांस्कृतिक संरक्षणमा महत्वपूर्ण योगदान दिइरहेको बताए। प्रेस सेन्टर नेपाल मधेश प्रदेश अध्यक्ष निरज पीठाकोटे मगरले मातृभाषाको पत्रकारितालाई समय, परिस्थिति र प्रविधिसँगै अघि बढाउन निरन्तर प्रयास गर्नुपर्नेमा जोड दिए। वरिष्ठ पत्रकार राघव साहले भोजपुरी टाइम्सको सुरुवाती दिनदेखि अहिलेसम्मको संघर्ष र उपलब्धिको यात्रा स्मरण गर्दै शुभकामना व्यक्त गरे।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका कार्यसमिति सदस्य अजय साह, विभिन्न पत्रपत्रिकाका सञ्चारकर्मीहरू, जनजाति कल्याण आश्रम वीरगञ्जका बालबालिकाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता पत्रिकाका प्रकाशक अजय चौरसियाले गरे भने स्वागत मन्तव्य कार्यकारी सम्पादक श्रवण साहले राखेका थिए। सञ्चालन पत्रकार श्याम सराफले गरेका थिए।

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२  १४:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update