
साउन १९ –
मधेश प्रदेशमा स्वास्थ्य बीमा कार्यक्रमप्रति आकर्षण बढ्दै गएको देखिएको छ। प्रदेशका आठै जिल्लामा हालसम्म ७ लाख ७९ हजार २६५ जनाले स्वास्थ्य बीमा गरेका छन्। यो कुल जनसंख्याको करिब १३ प्रतिशत हो। स्वास्थ्य बीमा बोर्डका मधेश प्रदेश संयोजक रामेन्द्र प्रसाद कुशवाहाका अनुसार पालिका र प्रदेश सरकारसँग समन्वय गर्दै कार्यक्रमलाई थप प्रभावकारी बनाउन पहल भइरहेको छ।
प्रदेश सरकारको आर्थिक सहयोगमा सहिद परिवारलाई निःशुल्क बीमा गरिँदै आएको छ। गएको आर्थिक वर्षमा विनियोजित ४० लाख रुपैयाँबाट केही सहिद परिवारलाई बीमामा समावेश गरिएको भए पनि ठेगाना नपाइनु, बसाइँसराइ लगायतका कारण सबै परिवारलाई समेट्न कठिन भएको संयोजक कुशवाहाले बताए।
उनका अनुसार सरकारले सञ्चालनमा ल्याएका आधारभूत अस्पताललाई बीमा सेवा अन्तर्गत ल्याउने प्रयास भइरहेको छ। साथै, क्यान्सर, मुटु रोग, डायलासिस, हेड इन्जुरी, स्पाइनल इन्जुरी जस्ता गम्भीर रोगका बिरामीका लागि प्रमाणको आधारमा अतिरिक्त १ लाख रुपैयाँको बीमा सीमा थप गरिएको छ।