
वीरगंज, १६ साउन
वीरगंज महानगरपालिका वडा नं. ९ रानीघाटस्थित बिपिएस प्लस २ कलेजमा आज विशेष दन्त परीक्षण कार्यक्रम सम्पन्न भएको छ।एभरेष्ट दन्त सेवा केन्द्र प्रा.लि.को प्राविधिक सहयोगमा सञ्चालन गरिएको उक्त कार्यक्रममा डा. मनोज कुमार उपाध्याय, डा. पूजा सर्राफ र डा. चन्द्रकान्त पासवान नेतृत्वको चिकित्सक टोलीले विद्यार्थीहरूको दन्त परीक्षण गरेका थिए।
कार्यक्रम अन्तर्गत कक्षा ११ र १२ मा अध्ययनरत करीब २०० जना विद्यार्थीको दाँतको अवस्था परीक्षण गरिएको थियो। परीक्षणमा ८० जना विद्यार्थीमा गिजा सुन्निने, दाँतबाट रगत आउने, किराले खाएको जस्ता समस्या देखिएको चिकित्सकहरूले जनाएका छन्।
समस्याग्रस्त विद्यार्थीहरूलाई क्लिनिकमा थप जाँच र उपचारका लागि बोलाइएको छ भने, उनीहरूलाई २५% छुट प्रदान गरिने समेत जानकारी दिइयो।
कार्यक्रमको उद्देश्य दन्त स्वास्थ्यप्रति विद्यार्थीमा चेतना अभिवृद्धि गर्नु रहेको बताउँदै चिकित्सक टोलीले यस्तो जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनु आवश्यक रहेको औंल्याए।
कार्यक्रमको अवसरमा बिपिएस प्लस २ कलेजका डाइरेक्टर दीपक पटेलले धन्यवाद ज्ञापन गर्दै बालबालिकाको समग्र स्वास्थ्यमा दन्त स्वास्थ्यले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे। उनले यस किसिमका गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाए।
कार्यक्रममा डाइरेक्टर दीपक पटेल,सन्दीप कुशवाहा, चिकित्सक डा. उपाध्याय, डा. सर्राफ, डा. पासवानसहित कलेजका अन्य शिक्षक-शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
विद्यार्थीहरूलाई दाँतको सरसफाइ, नियमित जाँचको महत्त्व, क्याभिटीको समाधान, खानपानका असरहरूबारे जानकारी दिइएको थियो। साथै, चिकित्सकद्वारा प्राथमिक उपचार र आवश्यक सल्लाह समेत प्रदान गरिएको थियो।
कार्यक्रमको समापनमा कलेज प्रशासनले एभरेष्ट दन्त सेवा केन्द्रलाई विशेष धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि यस्ता स्वास्थ्यसम्बन्धी सहयोगको अपेक्षा गरेको जनाइएको छ।