Birgunj News24
ट्राफिक प्रहरीलाई कालो चस्मा वितरण, मधेसभर सहज कार्य वातावरणको प्रयास।

वीरगञ्ज, १४ साउन।

सर्लाही — चर्को गर्मीमा सडकमा खटिने ट्राफिक प्रहरीलाई सहज वातावरणमा कार्य गर्न सहयोग पुर्‍याउने उद्देश्यले नेपाल नेत्रज्योति संघ, मधेस प्रदेशमार्फत कालो चस्मा वितरण गरिएको छ।

संघमार्फत ईश्वरपुरस्थित आँखा उपचार केन्द्रलाई प्राप्त ७०० थान चश्मा ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएको हो। वितरण कार्यक्रम ईश्वरपुर नगरपालिकाका प्रमुख तथा आँखा उपचार केन्द्रका अध्यक्ष मनोज आचार्यको अध्यक्षतामा सम्पन्न भयो।

कार्यक्रममा नेपाल नेत्रज्योति संघका केन्द्रीय कोषाध्यक्ष चिजकुमार मास्के, मधेस प्रदेश सभापति रविन्द्रलाल चौधरी, बागमती प्रदेश सभापति ऋषिराम पौडेल, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवाल, पर्सा जिल्ला ट्राफिक प्रहरी प्रमुख लोकराज भट्टसहित मधेसका आठवटै जिल्लाका ट्राफिक प्रहरी प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति थियो।

ईश्वरपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. पंकज कुमार साह, विभिन्न वडाका अध्यक्षहरू तथा स्थानीय जनप्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो। आँखा उपचार केन्द्र ईश्वरपुरका उपाध्यक्ष प्रकाश मैनालीले चस्मा वितरणसम्बन्धी विवरण प्रस्तुत गरेका थिए।

कार्यक्रममा बोल्दै सभापति रविन्द्रलाल चौधरीले पूर्व–पश्चिम राजमार्गको पुनर्निर्माणका कारण ट्राफिक प्रहरीलाई अझ बढी चुनौतीपूर्ण अवस्था हुने भएकाले यस्तो सहयोग कार्यक्रम सुरु गरिएको बताए। “यो अभियान आगामी वर्षहरूमा पनि निरन्तरता दिइनेछ,” उनले भने।

प्रहरी उपरीक्षक राजकुमार सिलवालले कालो चस्माले ट्राफिक प्रहरीलाई गर्मी, घाम, धूलो र आँखाको समस्या बाट बचाउन मद्दत पुग्ने बताए।

नगरप्रमुख मनोज आचार्यले ट्राफिक प्रहरीले नागरिकको जिउधनको सुरक्षामा दिनरात नभनी खटिएको उल्लेख गर्दै स्थानीय सरकार सधैं यस्ता सुरक्षाकर्मीहरूप्रति सहयोगी हुने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रमकै अवसरमा भरतपुर आँखा अस्पतालले ईश्वरपुर नगरपालिकालाई ३१ प्रकारका करिब ११ लाख रुपैयाँ बराबरका स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेको थियो। यस्तै, संघका कोषाध्यक्ष चिजकुमार मास्के, मधेस सभापति रविन्द्रलाल चौधरी, बागमती सभापति ऋषिराम पौडेल र चार्टर्ड एकाउन्टेन्ट देव राज पन्तलाई नगरपालिकाले सम्मान गरेको जानकारी स्वास्थ्य शाखा प्रमुख शुगेन्द्र महतोले दिए।

कार्यक्रमले ट्राफिक प्रहरीप्रतिको सम्मान अभिवृद्धि गर्नुका साथै सुरक्षाकर्मीहरूका लागि कार्य सहज बनाउनेतर्फको सार्थक प्रयासलाई प्रतिनिधित्व गरेको सहभागीहरूले बताएका छन्।

प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२  ११:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update