
बारा, परवानीपुर —परवानीपुर गाउँपालिका वडा नं ५, बहुअरीस्थित मैन चौक छेउको पुरानो चौतारा अब नयाँ स्वरूपमा पुनर्जीवित भएको छ। लामो समयदेखि उपेक्षित र फोहोरको थुप्रोमा परिणत भएको चौतारालाई स्थानीय युवाहरूको सक्रिय सहभागितामा पुनःनिर्माण गरिँदा स्थानवासीहरू हर्षित भएका छन्।
यस सामाजिक रूपमा प्रेरणादायी कार्यको सुरुआत समाजसेवी तथा युवा नेता सञ्जु साहको अगुवाइमा भएको हो। गाउँका वरिष्ठ नागरिक प्रभु पटेलको विशेष पहल र अनुरोधपछि साहले चौताराको मर्मत सम्भारको जिम्मेवारी लिएका थिए। अब सो स्थान न केवल विश्रामस्थल बनेको छ, तर युवाहरू तथा बुद्धिजीवी समुदायका लागि विचार आदानप्रदान गर्ने सामुदायिक थलोसमेत बन्न थालेको छ।
पुनःनिर्माण कार्यमा स्वच्छ समाज युवा क्लबका अध्यक्ष भूपेन्द्र पटेल, समाजसेवी तेजप्रताप सिंह, उपाध्यक्ष उमेश साह, वरिष्ठ सदस्य तथा प्राध्यापक सरोज यादव, सन्दिप यादव लगायत थुप्रै समाजसेवीहरूको उल्लेखनीय सहयोग रहेको छ। सबै सहयोगीप्रति आयोजक पक्षले विशेष धन्यवाद ज्ञापन गरेको छ।
स्थानीय बासिन्दाहरू भन्छन्, “हामीलाई यस्तो चौतारा पुनः प्राप्त हुँदा गाउँको पुरानो स्मृति फर्किएको अनुभूति भएको छ। यो केवल संरचना होइन, यो हाम्रो सामाजिक एकताको प्रतीक हो।”
यस्ता सकारात्मक प्रयासले गाउँमा सामाजिक सद्भाव बढाउने मात्र होइन, युवा पुस्तालाई पनि समाजप्रति उत्तरदायी बनाउने स्थानीयको विश्वास छ।