
६ साउन वीरगन्ज, आनन्द पटेल
प्याब्सन वीरगञ्जले कक्षा ११ र १२ मा अध्ययन गर्न चाहने SEE उत्तीर्ण विद्यार्थीहरूका लागि सञ्चालन गर्न लागेको छात्रवृत्ति परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। यस वर्षदेखि पहिलोपटक सुरु हुन लागेको छात्रवृत्ति कार्यक्रमको अन्तर्गत करिब ५ सय विद्यार्थीले आवेदन दिइसकेका छन्।
प्याब्सन महानगर कमिटी र प्याब्सन जिल्ला कार्यसमितिको समन्वयमा सञ्चालन हुन लागेको परीक्षामा काठमाडौंसम्मका विद्यार्थीले पनि आवेदन दिएका छन्। आर्थिक रूपमा कमजोर, सामुदायिक विद्यालयमा अध्ययन गरेका र जेहेन्दार विद्यार्थीहरूलाई अवसर प्रदान गर्ने उद्देश्यले कार्यक्रम ल्याइएको नगर अध्यक्ष राहुल श्रीवास्तवले जानकारी दिए।
परीक्षा यही साउन १० गते हुनेछ। परीक्षाका लागि आवेदन अनलाइनमार्फत खुलाइएको थियो र आवेदन दिने अन्तिम मिति साउन ८ गते बिहान १० बजेसम्म तोकिएको छ। हालसम्म ४५० जनाले फारम भरेका छन् र यो संख्या ५ सय नाघ्ने अपेक्षा गरिएको छ।
परीक्षामा सहभागी विद्यार्थीहरूले आफ्नो प्रवेशपत्र पानीटंकी–१० स्थित लिटिल बडी प्रि–स्कुलबाट परीक्षा समिति सदस्य विजय बलसँग सम्पर्क गरी लिन सक्नेछन्। प्रवेशपत्र छुटेको खण्डमा परीक्षा हुने १० वटा कलेजबाट पनि उपलब्ध गराइने प्याब्सन नगर सचिव अमित आलोकले जानकारी दिए।
उनले छोटो समयमा विद्यार्थीको उत्साहजनक सहभागिता देखिएकाले आगामी वर्ष कार्यक्रमलाई अझ व्यवस्थित र व्यापक बनाइने बताए। परीक्षा पूर्णतः मर्यादित र व्यवस्थित रुपमा सञ्चालन गरिने उनले बताए।
परीक्षामा अंग्रेजी, नेपाली, गणित र विज्ञान विषयमा सोधिने प्रश्नमध्ये अधिकांश कक्षा १० को पाठ्यक्रमबाट रहने जानकारी परीक्षा समिति सदस्य सुमित कुमार गुप्ताले दिए।
मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्याब्सन जिल्ला कार्यसमिति सदस्य शुलभ केसी, नगर अध्यक्ष राहुल श्रीवास्तव, सचिव अमित आलोक, परीक्षा समिति सदस्य विजय बल र सुमित गुप्ता, प्रेस संयोजक दीपु बर्णवाल तथा नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौधरीको उपस्थिति रहेको थियो।