Birgunj News24
वीरगञ्ज महानगरपालिका–३ स्थित लिटिल बड्डी प्रिस्कुलमा शुक्रबार आयोजित निःशुल्क आँखा जाँच शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

वीरगञ्ज  – वीरगञ्ज महानगरपालिका–३ स्थित लिटिल बड्डी प्रिस्कुलमा शुक्रबार आयोजित निःशुल्क आँखा जाँच शिविर सफलतापूर्वक सम्पन्न भएको छ। बालबालिका र शिक्षक–कर्मचारीको आँखा स्वास्थ्यको महत्त्वलाई ध्यानमा राख्दै विद्यालयले उक्त शिविरको आयोजना गरेको हो।

किरण आँखा अस्पताल, वीरगञ्जको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा विद्यालयका १२० जना विद्यार्थी र १५ जना शिक्षक तथा कर्मचारीको आँखाको परीक्षण गरिएको विद्यालयका प्रधानाध्यापक विजय कुमार बलले जानकारी दिए। उनका अनुसार, नियमित स्वास्थ्य परीक्षणका माध्यमबाट विद्यार्थीको समग्र स्वास्थ्यमा सुधार ल्याउन मद्दत पुग्ने विश्वासका साथ विद्यालयले यस्तो कार्यक्रम सञ्चालन गरेको हो।

शिविरमा किरण आँखा अस्पतालबाट दृष्टि विशेषज्ञ डा. मुस्कान गुप्ता तथा नेत्र सहायकहरू कविता पोख्रेल, शोभा कटवाल, जयमाला चौधरी, रुबी मिश्र र रामबाबु चौरसियाको सक्रिय सहभागिता रहेको थियो। उनीहरूले प्रत्येक बालबालिकाको दृष्टि परीक्षण गरी आवश्यक परामर्श र सुझाव दिएका थिए।

डा. मुस्कान गुप्ताका अनुसार, बाल्यकालमै दृष्टि समस्या पत्ता लागेमा समयमै उपचार गर्न सकिन्छ, जसले दीर्घकालीन दृष्टि समस्याबाट बच्न मद्दत गर्छ। परीक्षणको क्रममा केही विद्यार्थीहरूमा सामान्य दृश्य कमजोरीको संकेत देखिएको र अभिभावकलाई थप उपचारका लागि सुझाव दिइएको पनि उनले बताइन्।

विद्यालयका प्रधानाध्यापक विजय बलले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण चिकित्सक टोली, शिक्षक, अभिभावक र विद्यार्थीलाई धन्यवाद ज्ञापन गर्दै भविष्यमा यस्ता स्वास्थ्य शिविरहरू निरन्तर रूपमा आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे।

यस किसिमको स्वास्थ्य शिविरले बालबालिकामा स्वास्थ्यप्रति सचेतना बढाउनुका साथै शिक्षक तथा अभिभावकलाई पनि समयमै ध्यान दिन उत्प्रेरणा दिने विद्यालयको विश्वास छ।

प्रकाशित मिति: शनिबार, साउन ३, २०८२  १८:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update