Birgunj News24
वीरगन्जमा विगत एक महिना यतादेखि खानेपानीको संकट चुलिएपछि महानगरपालिकाले नेपाल खानेपानी संस्थानको धारा निःशुल्क जडान गरिदिने व्यवस्था मिलाएको छ ।

वीरगन्जमा विगत एक महिना यतादेखि खानेपानीको संकट चुलिएपछि महानगरपालिकाले नेपाल खानेपानी संस्थानको धारा निःशुल्क जडान गरिदिने व्यवस्था मिलाएको छ ।बिहीबार वीरगन्ज महानगरपालिकाले खानेपानी संस्थानसंग खानेपानी सेवा विस्तार सम्बन्धि समझौतापत्रमा हस्ताक्षर गरेर संस्थानको पाइपलाइन विस्तार भएका महानगरका वडाहरुमा नयाँ धारा निःशुल्क जडान गरिदिने व्यवस्था मिलाएको हो ।
वीरगन्जमा खानेपानीको दीर्घकालीन समस्या समाधान गर्ने उदेश्यले खानेपानी मन्त्री प्रदीप यादव र वीरगन्ज महानगरका मेयर राजेशमान सिंहको अग्रसरतामा संस्थान र महानगरबीच भएको समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।समझदारीपत्रमा संस्थानको तर्फबाट संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकाल र वीरगन्ज महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्णले हस्ताक्षर गरेका छन् 
अब खानेपानी संस्थानको नयाँँ धारा जडानमा लाग्ने शुल्क महानगरपालिकाले व्यहोर्ने मेयर सिंहले बताए । बिहीबार भएको सम्झौताले वीरगन्ज महानगरपालिका भित्रका प्रत्येक घरधुरीमा स्वच्छ, सुरक्षित र दिगो खानेपानीको पहुँच सुनिश्चित गर्ने परिकल्पना गरिएको उनले बताए ।
संस्थान र महानगरबीच भएको सम्झौताको म्ख्य उदेश्यहरुमा जलवायु परिवर्तनका कारण उत्पन्न हुने खानेपानीको समस्याको दीर्घकालीन समाधान खोज्नु, नगरवासीका घरधुरीमा स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्नु, खानेपानीको नयाँ धारा निशुल्क जडान गरि अझ सरल, छिटो र पारदर्शी बनाउनु र खानेपानीको गुणस्तर तथा सेवाको पहुँचमा समग्र सुधार ल्याउने जस्ता विषय समावेश रहेका छन् ।
विशेषगरी हाल खानेपानीको अभाव झेलिरहेका र गुणस्तरहीन पानी प्रयोग गर्न बाध्य रहेका महानगरवासीलाई प्रत्यक्ष लाभ पुर्याउने तथा स्वच्छ खानेपानीको सुनिश्चितताले जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने र पानीजन्य रोगहरूको जोखिम न्यूनीकरणमा मद्दत पुग्ने विश्वासपनि गरिएको खानेपानी मन्त्री यादवले बताए ।
समझदारी पत्रमा उल्लेख भएका सेवा सुविधाले आर्थिक रूपमा कमजोर रहेका परिवारलाई पनि खानेपानीको सुविधा उपभोग गर्न सहज हुने भन्दै यादवलले संस्थानले वीरगन्ज शाखामा आवश्यक जनशक्ति थप गरेर सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाए ।
मन्त्री यादवले भने खानेपानीको चरम अभाव दिनप्रतीदिन बढ्दै गएको अवस्था छ । यसले यहाँको जनजीवनलाई नराम्ररी प्रभावित बनाएको छ । त्यसैले अरु व्यवस्थापन संगै दीर्घकालिन रुपमा पनि समाधानको प्रयास तथा विकल्प स्वरुप आज महत्वपुर्ण समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।
खानेपानी मन्त्रालयले उक्त समझदारी पत्रको सफल कार्यान्वयनका लागि एक सहजकर्ताको भूमिका निर्वाह गर्ने र त्यसले दुई पक्षबीच समन्वय र सहकार्यलाई थप सुदृढ बनाउन मद्दत पुर्याउने मन्त्री यादवले बताए ।
संस्थान र महानगरबीच बिहीबार भएको सम्झौताको कार्यान्वयको अवधि २०८२ साउन १ देखि २०८२ पुस मसान्तसम्म रहेको मेयर सिंहले जानकारी दिए । त्यसपछि आवश्यक परेको खण्डमा दुवै निकायबीचको समझदारीमा सम्झौता अवधि थप पनि गर्नसकिने उनले बताए ।
समझदारी पत्रमा संस्थानको नयाँ धारा जडानका लागि आवश्यक धरौटी रकम वीरगन्ज महानगरपालिकाले संस्थानमा जम्मा गर्ने ,रकम जम्मा भएपछि संस्थानले धारा जडान गर्ने , संस्थानले नयाँँ पाइपलाइन विस्तार गर्ने, हालको पाइपलाइनको मर्मत सम्भार गर्ने , नयाँ धारा जडान र स्वच्छ खानेपानीको प्रयोगबारे जनचेतना फैलाउने कार्यक्रम गर्ने , कुनै गुनासो आएमा तत्काल समाधानका लागि आवश्यक कारबाही गर्ने उल्लेख छ ।
सम्झौताको कार्यान्वयनमा आउन सक्ने सम्भावित अवरोधलाई सहजै समाधान गर्ने उद्देश्यले कुनैपनि प्रकारको विवाद उत्पन्न भएमा दुवै पक्षबीच आपसी छलफल र वार्तालापबाट समाधान गर्ने प्रावधान पनि समभदारी पत्रमा उल्लेख गरिएको छ ।
लामो समयदेखी निरन्तर परेको खडेरी, जलवायु परिवर्तन र तापक्रम बृद्धिका कारण वीरगन्जको भूमिगत जल सतह घट्न गई चापाकलहरुको पानी सुक्दा खानेपानीको संकट चुलिएको अवस्थामा महानगरका बासिन्दालाई स्वच्छ, सुरक्षित र दिगो खानेपानीको पहुँच सुनिश्चित गर्न संस्थान र महानगरबीच उक्त सम्झौता गरिएको उप मेयर इम्तियाज आलमले बताए ।
वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय कर्णले खानेपानी समस्या समाधानका लागि बिहीबार भएको समझदारी वीरगन्जका बासिन्दाहरूको खानेपानीको अधिकार सुनिश्चित गर्ने दिशामा एउटा महत्वपूर्ण कदम भएको बताए।
सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठ, खानेपानि संस्थानका अध्यक्ष ढुण्डीराज भट्टराई, खानेपानि संस्थानका सञ्चालक सदस्य मुकेश द्विवेदी, सलमा खातुन, मधुमाया यादव, खानेपानी संस्थान वीरगन्ज शाखा प्रमुख प्रविण साह, वीरगन्ज महानगरपालिका प्राविधिक सल्लाहकार प्रकाशमान सिंह अमात्य, आयोजना प्रमुख अवधेश प्रसाद कुशवाहा, वन वातावरण तथा विपद् व्यवस्थापन महाशाखा प्रमुख राकेश साह लगायतकाकोपनि सहभागीता रहेको थियो । सो को जानकारी उप प्रमुख का प्रेस सल्लाहकार महमद सदाब ले दिनु भयो

प्रकाशित मिति: बिहीबार, साउन १, २०८२  २१:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update