
अभिलाष गुप्ता
वीरगंज, ३१ असार
"A dwelling to craft all aptitude and morality" भन्ने नाराका साथ शिक्षादान गरिरहेको साउथ जोन सेकेन्डरी स्कूल, वीरगंजमा विद्यार्थी पदाधिकारी शपथ तथा वार्षिक पुरस्कार वितरण समारोह भव्यताका साथ सम्पन्न भएको छ।
शैक्षिक सत्र २०८२ का लागि विद्यार्थी कल्याणकारिणी परिषद्मा निर्वाचित भएका पदाधिकारीहरूले विद्यालय परिसरमा आयोजित विशेष समारोहबीच शपथ ग्रहण गरेका छन्। कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षकगण, अभिभावक, विद्यार्थी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको प्रमुख आकर्षण चार हाउस प्रणाली अन्तर्गत चयन भएका नव-निर्वाचित क्याप्टेन्स तथा हाउस लिडर्सको सपथ समारोह रह्यो। गार्नेट, सिट्रिन, साफायर, र एमराल्ड नामक चार हाउसबाट प्रतिनिधित्व गर्ने विद्यार्थीहरूले विद्यालय र विद्यार्थी हितमा जिम्मेवारीपूर्वक कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।
सोही अवसरमा शैक्षिक, खेलकुद, अनुशासन, नियमित उपस्थिति, सांस्कृतिक योगदान तथा नेतृत्वका विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरियो। गत सत्रमा विशेष उपलब्धि हासिल गर्ने विद्यार्थीहरूलाई “मायाको चिनो” समेत प्रदान गरिएको थियो।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल सरोज प्रसाद चौधरीले अध्यक्षता गर्नुभएको थियो। सम्बोधनका क्रममा उहाँले भन्नुभयो, “विद्यालय केवल शिक्षाको केन्द्र मात्र होइन, व्यक्तित्व विकास र नैतिक मूल्यहरूको प्रशिक्षणस्थल पनि हो। आज शपथ लिएका विद्यार्थीहरू नै भोलिका उत्तरदायी नागरिक हुन्।”
कार्यक्रममा प्रमुख अतिथिको रूपमा वीरगंज महानगरपालिका शिक्षा महाशाखा प्रमुख आनन्द लामिछाने उपस्थित हुनुहुन्थ्यो। उहाँकै नेतृत्वमा विद्यार्थीहरूलाई सपथ गराइएको थियो। विशिष्ट अतिथि रास्ट्रिय खेलकुद परिषद् मधेश प्रदेशका सचिव शिवजी गुप्ता तथा नेपाल इनोभेट सोसाइटी वीरगंजका अध्यक्ष कमल चौगाई रहेका थिए।
साथै, प्याब्सनका पूर्व केन्द्रीय सदस्य तथा समाजसेवी प्रकाश कुमार उपाध्याय, वरिष्ठ सल्लाहकार इमामुद्दीन अहमद, केन्द्रीय सदस्य छेडुप लामा, सामाजिक अभियन्ता प्रकाश थारु, वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख श्याम कुमार बस्नेत, मानव सेवा आश्रमका संस्थापक सदस्य देवेश गुप्ता, तथा विभिन्न संचारमाध्यमका पत्रकारहरूको पनि उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन विद्यालयका प्रशासन प्रमुख अशोक सङौलाले गर्नुभएको थियो। विद्यार्थीहरूले मार्च पास तथा विविध मनोरञ्जनात्मक प्रस्तुतिहरू समेत गरेका थिए।
विद्यालयले सामाजिक र नैतिक शिक्षालाई विशेष प्राथमिकता दिँदै आएको छ। यही सन्देशका साथ समारोहको समापन गरिएको थियो।