Birgunj News24
स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले पत्रकारहरूमाथि गरेको दुर्व्यवहारप्रति प्रेस चौतारी नेपाल पर्सा शाखाले गम्भीर ध्यानाकर्षण गराउँदै तीव्र आपत्ति जनाएको छ।

स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले पत्रकारहरूमाथि गरेको दुर्व्यवहारप्रति प्रेस चौतारी नेपाल पर्सा शाखाले गम्भीर ध्यानाकर्षण गराउँदै तीव्र आपत्ति जनाएको छ। मिति २०८२ असार २२ गते, एक कार्यक्रमको सिलसिलामा स्वास्थ्य कार्यालय पर्सामा सञ्चालित तालिमस्थलमा पुगेका पत्रकारहरूमाथि गालीगलौज तथा अपमानजनक व्यवहार गरिएको घटनाले प्रेस स्वतन्त्रतामाथि प्रश्न खडा गरेको प्रेस चौतारीले जनाएको छ।

प्रेस चौतारी पर्साका सचिव कृष्णा कुशवाहाद्वारा जारी विज्ञप्तिअनुसार, पत्रकार राजु बैठा, आरोहणकुमार साह, आनन्दकुमार पटेल, राकेशकुमार साह, सन्तोषकुमार कुशवाहा, अर्जुन चौधरी लगायतमाथि स्वास्थ्य अधिकृत ठाकुरले अभद्र व्यवहार गर्दै अपशब्द प्रयोग गरेका थिए।

यस घटनापछि चौतारीले स्थानीय प्रहरी प्रशासनको ध्यानाकर्षण गराइसकेको छ। तर, प्रहरीले घटनालाई आवश्यक गम्भीरताका साथ नलिएको र दोषीमाथि कारबाहीको प्रक्रिया अघि नबढाएकोप्रति चौतारीले गहिरो असन्तुष्टि व्यक्त गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “प्रहरी प्रशासनका उच्च अधिकारीहरूले पत्रकारमाथि दुर्व्यवहार गर्ने दोषीमाथि अहिलेसम्म भरपर्दो कानूनी प्रक्रिया अघि नबढाएको देखिँदा प्रहरी प्रशासनको भूमिकाप्रति नै सन्देह उत्पन्न भएको छ।”

प्रेस चौतारीले पत्रकारमाथि भएको दुर्व्यवहारको घोर निन्दा गर्दै दोषी स्वास्थ्य अधिकृत जयमोद ठाकुरलाई तत्काल कारबाहीको दायरामा ल्याउन माग गरेको छ। सो माग तत्काल सम्बोधन नभए संघर्षका कडा कदम चाल्न बाध्य हुने चेतावनीसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ।

पत्रकार सुरक्षाको सवालमा प्रेस चौतारी नेपाल पर्सा कुनै पनि प्रकारको सम्झौता नगर्ने स्पष्ट सन्देशसहित सबै सरोकारवाला पक्षलाई जिम्मेवार र उत्तरदायी बन्न अपील गरिएको छ।

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  १९:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update