
सर्लाहीमा जसपा नेता यादवलाई पक्राउ गर्न एक हजार प्रहरी खटाइयो, जिल्लाभर निगरानी कडा !
सर्लाही । जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश अध्यक्ष तथा पूर्व प्रदेश सांसद अशोक यादवलाई पक्राउ गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
जिल्ला अदालत सर्लाहीबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई नियन्त्रणमा लिन जिल्लाभर एक हजारभन्दा बढी प्रहरी परिचालन गरिएको हो ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, जिल्लाभित्रका सम्पूर्ण प्रहरी युनिटलाई सतर्क र उच्च निगरानीमा राखिएको छ। जहाँ देखिए पनि तत्काल पक्राउ गर्न निर्देशन दिइएको छ ।
नेता यादवको मोबाइल ट्र्याकिङका साथै मोबाइल लोकेसन पत्ता लगाउन केन्द्रसित समन्वय भइरहेको प्रहरीले जनाएको छ।सम्भावित स्थानहरूमा निगरानी तीव्र पारिएको छ भने विभिन्न युनिटबाट थप प्रहरी जिल्ला प्रहरी कार्यालयमा तयारी अवस्थामा राखिएको छ।बिहीबार राति नेता यादव र सर्लाही प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्काबीचको गालीगलौजको अडियो सार्वजनिक भएपछि अवस्था चर्किएको थियो। त्यसै रात नेता यादवलाई पक्राउ गर्न गएका प्रहरीमाथि ढुंगामुढा प्रहार भएको थियो ।प्रहरीका अनुसार, यादवका समर्थकहरूले सरकारी गाडीमा तोडफोड, प्रहरीको काममा अवरोध र सार्वजनिक बाटो अवरुद्ध पारेका छन्। यिनै घटनाका आधारमा प्रहरीको प्रतिवेदनपछि जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो । साभार :- नव जनप्रहार