अषाढ १५ गते
रौतहट । “सम्पूर्ण किसान एकजुट हौं, धान बालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने मूल नाराका साथ आइतबार रौतहटको कटहरिया नगरपालिका–२, जमुनिया मा राष्ट्रिय धान दिवस विशेष कार्यक्रमका साथ मनाइएको छ।
कार्यक्रमको आयोजना अखिल नेपाल किसान महासंघ, जिल्ला समिति रौतहटले गरेको हो भने कार्यक्रमको अध्यक्षता महासंघका अध्यक्ष किशोरी कुशवाहाले गर्नुभयो। धान रोपाइँ कार्यक्रममार्फत कृषि क्षेत्रमा सघन उत्पादन, खाद्य सुरक्षाको प्रवर्द्धन र आत्मनिर्भर अर्थतन्त्रतर्फको यात्रामा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्यद्वय कुन्दन कुशवाहा र उद्वव रेग्मी, मधेस प्रदेश सभा सदस्य केसव चौधरी, तथा नेकपा एमाले चन्द्रपुर नगर कमिटी अध्यक्ष शिव आचार्यको विशेष उपस्थिति रहेको थियो। अतिथिहरूले कृषि क्षेत्रलाई राजनीतिक घोषणामात्र नभई व्यवहारमा आत्मनिर्भरता र नवप्रवर्तनको मेरुदण्ड बनाउनुपर्ने आवश्यकता औंल्याएका थिए।
कार्यक्रममा सहभागी किसानहरूले परम्परागत शैलीमा खेतमै धान रोपेर राष्ट्रिय धान दिवसको महत्वलाई व्यवहारमा उतारे। दहीच्युरा खाँदै किसानहरूले सांस्कृतिक उल्लासका साथ दिवस मनाए।
नेताहरूले कृषि अनुदान, प्रविधि हस्तान्तरण, किसान शिक्षालगायतका विषयमा राज्यको स्पष्ट नीति र कार्यान्वयनको मागसमेत राखेका थिए।
असार १५ गते नेपालमा राष्ट्रिय धान दिवसका रूपमा मनाइन्छ। यस दिन देशभर किसानहरू धान रोपेर, दहीच्युरा खाएर कृषि, माटो र किसानको सम्मानमा दिवस मनाउने परम्परा छ।



