
३१ जेठ,बारा । भारतबाट नेपालमा अवैध रुपमा भित्र्याइँदै गरेको करिब ४० लाख रुपैयाँ बराबरको एयरपोड र टेम्परग्लास सशस्त्र प्रहरी बल १२ नम्बर गण, बाराले बरामद गरेको छ।
शनिबार बिहान बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर ३ डम्पिङ साइटस्थित बाटोबाट साइकलमा लोड गरी ल्याइँदै गर्दा सशस्त्र प्रहरीले उक्त सामान नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज बिष्टको कमान्डमा खटिएको टोलीले बिहान करिब साढे ५ बजेको समयमा साइकलमा सामान ल्याउँदै गरेको व्यक्तिलाई देखेपछि रोक्ने प्रयास गरेको थियो। तर, प्रहरीलाई देखेर सामान ल्याउने भरिया साइकल छाडेर भागेपछि प्रहरीलाई शंका लागेको थियो।
सभार :- छानबिन न्युज
साइकलको जाँच गर्दा ठूलो परिमाणमा ब्राण्डेड कम्पनीका एयरपोड र टेम्परग्लास फेला परेको सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपति खुमबहादुर के.सी.ले जानकारी दिए । बरामद गरिएका सामग्रीहरूमा ९५ थान एयरपोड प्रो र १६० थान टेम्परग्लास रहेका छन्, जसको कुल मूल्य करिब ३९ लाख ९२ हजार रुपैयाँ रहेको छ।
भारतबाट हुने यस्ता अवैध आयात रोक्न सशस्त्र प्रहरीले विशेष निगरानी बढाइरहेको र सीमा क्षेत्रमा कडाइका साथ जाँच गरिरहेको गणपति के.सी.ले बताए ।