Birgunj News24
वीरगंज महानगरको ऐतिहासिक ह्याट्रिक : राष्ट्रपति रनिङ शिल्ड स्थायी स्वामित्वमा  तीन वर्षको निरन्तर विजय : वीरगंज महानगरको खेलकुदमा अद्वितीय सफलता

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको तेस्रो लगातार जित, शिल्ड स्थायी स्वामित्वमा
वीरगंज 
वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ । नारायणी रंगशालामा सम्पन्न जिल्ला स्तरीय प्रतियोगितामा महानगरपालिकाले ३१ वटा स्वर्ण पदक जित्दै उत्कृष्ट प्रदर्शन गरेको हो ।
प्रतियोगितामा पर्सागढी नगरपालिकाले १८ स्वर्ण पदकसहित दोस्रो स्थान प्राप्त ग¥यो भने सखुवा प्रसौनी गाउँपालिकाले ४ स्वर्ण पदकसहित तेस्रो स्थानमा रह्यो । नियम अनुसार, लगातार तीन वर्षसम्म प्रथम हुने टोलीले शिल्ड स्थायी रूपमा राख्न पाउने व्यवस्था छ ।
लगातार तेस्रो पटक सम्म जित हात पारेर भित्र्याएको शिल्ड आइतबार एक कार्यक्रमकाबीच महानगर प्रमुख राजेशमान सिंहलाई हस्तान्तरण गरिएको छ । 
शिल्ड ग्रहण गर्नुहुँदै महानगर प्रमुख राजेशमान सिंहले खेलाडीहरूको मेहनत र समर्पणको प्रशंसा गर्दै भविष्यमा खेलकुद क्षेत्रमा थप लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, वडा नं. ५ का अध्यक्ष प्रदिप चौरसिया, प्रशासन प्रमुख सुनिल कर्ण, शिक्षा महाशाखा प्रमुख आनन्द लामिछाने, प्रेस सल्लाहकार नवराज फुयाँल, खेल प्रशिक्षक विश्वेश्वर पटेल लगायतको उपस्थिति थियो ।
यो उपलब्धिले वीरगंज महानगरपालिकाले खेलकुद क्षेत्रमा गरिरहेको लगानी र त्यसको प्रतिफल देखाएको छ । महानगरले खेलाडीहरूको प्रोत्साहन र विकासमा निरन्तर ध्यान दिँदै आएको छ, जसले भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत सफलता प्राप्त गर्न मद्दत पुर्याउने अपेक्षा छ ।

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  १८:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update