
वीरगञ्ज, १५ जेष्ठ
१८ औं गणतन्त्र दिवसको अवसरमा वीरगञ्ज
महानगरपालिकाद्वारा आयोजित दीप प्रज्वलन कार्यक्रममा उप–प्रमुख श्री इम्तियाज आलमज्यूले विशेष सहभागिता जनाउँदै दीप प्रज्वलन गर्नुभयो।
शुभकामना, राष्ट्रिय एकता र गणतन्त्रको सम्मानमा आयोजित उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधि, समाजसेवी, युवाहरू तथा सर्वसाधारणको उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै उप–प्रमुख आलमज्यूले गणतन्त्रले दिएको नागरिक अधिकार र लोकतान्त्रिक मूल्य–मान्यताहरूको संरक्षण तथा संवर्द्धन गर्न सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवार भूमिका निर्वाह गर्नु पर्ने आवश्यकता औँल्याउनुभयो।
दीप प्रज्वलन कार्यक्रमले राष्ट्रिय गौरव, समावेशिता, सहिष्णुता र लोकतन्त्रप्रतिको सम्मान झल्काएको सहभागीहरूको भनाइ थियो।
कार्यक्रमको समापन राष्ट्रगान गाएर तथा सामूहिक दीप प्रज्वलनमार्फत गरिएको थियो।