
काठमाडौं । गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका आईजीपी दीपक थापाले डीआईजी बढुवामा वरीयतालाई कायम राखेर कार्यसम्पादनका आधारमा निर्णय लिएका छन् ।
मंगलबारको सूचनाअनुसार ११ जनालाई एसएसपीबाट डीआईजीहरू बढुवा गरिएका छन् । बढुवाको सूचीमा १२ जना एसएसपी थिए । रिक्त ११ जना डीआईजी रहेको थियो ।
गृह मन्त्रालय बढुवा समितिले १ देखि ११ नम्बरसम्मका एसएसपीहरूलाई डीआईजी बढुवाका लागि सिफारिस गरेको छ । १२औँ नम्बरका एसएसपी शारदाप्रसाद चौधरी छुटेका छन् । एक पद रिक्त हुनेवित्तिकै चौधरी पनि डीआईजी हुनेछन् । सूचीअनुसार बढुवा समितिले कुनै भेदभाव गरेको देखिएको छैन । कार्यसम्पादन मूल्यांकनको अंकका आधारमा केहीलाई तलमाथि राखिए पनि अन्याय नभएको बढुवामा परेकाहरूले नै बताएका छन् ।
डीआईजी बढुवामा गृहमन्त्री लेखक र आईजीपी थापाले लिएको सुझवुझपूर्ण निर्णयले नेपाल प्रहरीमा नयाँ आशा पलाएको छ । एसपीबाट एसएसपी बढुवामा गर्दा पनि एसएसपीबाट डीआईजी बढुवामा लिएको वरीयताकै आधारलाई अगाडि बढाउने हो भने गृहमन्त्री लेखक र आईजीपी थापाप्रति प्रहरी संगठनमा झन् आस्था बढ्नेछ ।
विगतमा वरीयता मिचेर सबैभन्दा पुच्छारका प्रहरीलाई माथि ल्याएर बढुवा गर्ने गरिएका थिए । यद्यपि, यस पटक एसएसपीबाट डीआईजी बढुवामा १ देखि ११ नम्बरसम्म बढुवा भएका छन् ।
एसएसपीबाट डीआईजी बढुवा हुने ११ जनामा एसएसपीहरू दर्शनप्रसाद कोइराला, विनोद घिमिरे, दीपेन्द्र घर्ती क्षेत्री, दीपक रेग्मी, माधवप्रसाद श्रेष्ठ, दिलिपसिंह देउवा, दीपककुमार बस्नेत, ओमबहादुर राना, जयराज सापकोटा, सञ्जीव शर्मा दास र सुरेन्द्रबहादुर गुरुङ रहेका छन् ।
यसैबीच, रिक्त रहेको एक एआईजीमा सिद्धिविक्रम शाह बढुवा सिफारिसमा परेका छन् । डीआईजी शाहलाई समितिले एआईजीका लागि बढुवा सिफारिस गरेको छ ।