Birgunj News24
शिक्षकहरूसँगको सहमति कार्यान्वयनका लागि आगामी बजेटमा व्यवस्था गर्न सांसद ढकालको आग्रह

काठमाडौँ, २३ बैशाख/ प्रतिनिधिसभा सदस्य एकनाथ ढकालले आन्दोलनरत शिक्षकहरूसँग सरकारले गरेको सहमति आगामी बजेटमार्फत कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्। 
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ढकालले सरकारले शिक्षकहरूको माग सम्बोधन गर्न मन्त्रिपरिषद्को बैठकबाट आठवटा निर्णय गरी पत्र सार्वजनिक गरिसकेको उल्लेख गर्दै अब त्यसलाई व्यवहारमा उतार्ने समय आएको बताए।

“अहिलेको जनउत्तरदायी सरकारले शिक्षकहरूसँग गरेको सहमति केवल कागजमा सीमित नहोस्,” सांसद ढकालले भने, “आगामी बजेटमै यी सहमतिहरूलाई कार्यान्वयन गर्ने स्पष्ट व्यवस्था हुनुपर्छ।”

उनले विगतमा सरकारले सहमति गर्दा उदारता देखाए पनि कार्यान्वयनमा ढिलाइ हुने गरेको स्मरण गराउँदै अहिले पनि शिक्षकहरूमा संशय कायम रहेको बताए। सहमतिको कार्यान्वयनबाट मात्रै विश्वासको वातावरण बन्ने उल्लेख गर्दै सांसद ढकालले शिक्षकहरूसँग गरिएका प्रमुख सहमतिकाहरूलाई संसदमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराए।

उनले उपचारमा सहुलियत, विद्यालय कर्मचारी र ईसीडी शिक्षकहरूको तलब, अस्थायी शिक्षकहरूको सेवा, सामाजिक सुरक्षा कोष, दुर्गम भत्ता, ग्रेड समायोजन, मर्यादा क्रम, तलब समानता, राहत शिक्षक लगायतका विषयहरूलाई ढिलासुस्ती नगरी तुरुन्त कार्यान्वयन गर्न सरकारलाई आग्रह गरे।

सांसद ढकालको भनाइले शिक्षा क्षेत्रको सुदृढीकरण र शिक्षकहरूको हक–अधिकारको संरक्षणमा सरकारको गम्भीर ध्यानाकर्षण गराउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  १२:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update