Birgunj News24
वीरगञ्जमा सहिद दिवसका अवसरमा १० जना अग्रज सम्मानित

वीरगञ्ज, १६ माघ 
नेपाली कांग्रेस पर्साले सहिद दिवसको अवसरमा लोकतन्त्र, मानव अधिकार तथा समाज सेवामा उल्लेखनीय योगदान पुर्‍याउने १० जना अग्रजहरूलाई सम्मान गरेको छ।
वीरगञ्ज–१४ गण्डक चोकस्थित सहिद तेजबहादुर अमात्यको सालिक परिसरमा आयोजित विशेष कार्यक्रममा मधेस प्रदेशका कृषि मन्त्री जनार्दन सिंह क्षेत्रीले सम्मानित व्यक्तित्वहरूलाई दोसल्ला ओढाएर सम्मान प्रदान गरे। सम्मानित हुनेहरूमा नगेन्द्र पटेल, याकुब अन्सारी, लालबहादुर राउत कुर्मी, शान्ति कार्की, लक्ष्मण प्रसाद कुर्मी, लाल महमद मियाँ, जमिला खातुन, पार्वती देवी, नेत्र बहादुर केसी र हिराकान्त चौधरी रहेका छन्।
सम्मान कार्यक्रममा मन्त्री क्षेत्रीले सहिदहरूको सपना पूरा गर्ने आफ्नो दायित्व रहेको बताउँदै, सम्मानित व्यक्तित्वहरूको योगदानले समाजमा सकारात्मक परिवर्तन आएको उल्लेख गरे। उनीहरूको योगदानबाट प्रेरणा लिँदै समाजसेवा तथा लोकतन्त्रको सशक्तीकरणमा लाग्नुपर्ने उनले बताए।
त्यस्तै, प्रदेश सभा सदस्य श्याम पटेलले सम्मानित व्यक्तित्वहरूको योगदानको उच्च प्रशंसा गर्दै भने, "आज हामीले सम्मान गरेका अग्रजहरूले आफ्नो जीवन समाजको हितका लागि समर्पित गर्नुभएको छ। उहाँहरूको योगदान हाम्रो समाजका लागि अमूल्य सम्पत्ति हो।"
कार्यक्रम नेपाली कांग्रेसको क्षेत्रीय कार्यसमितिको संयोजनमा सम्पन्न भएको हो, जसको अध्यक्षता कांग्रेसका क्षेत्रीय सभापति मोहम्मद शाहाबुद्धीनले गरेका थिए।
सहिद दिवसको अवसरमा आयोजित यस सम्मान कार्यक्रमले समाजसेवा तथा लोकतन्त्रको सशक्तीकरणमा योगदान दिने अग्रजहरूको सम्मान गर्दै नयाँ पुस्तालाई पनि प्रेरित गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ।

प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update