
मकवानपुर, ३ माघ
मकवानपुर प्रहरीले ठूलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गरेको छ। बा १० च ७७५८ नम्बरको बोलेरो पिकअप गाडीमा लुकाइछिपाई राखिएको २१२ किलो गाँजा बरामद गरिएको हो। प्रहरीलाई देख्नासाथ गाडीमा सवार दुई जना तस्कर फरार भएका छन्।
इलाका प्रहरी कार्यालय मनहरी, मकवानपुर बाट खटिएको प्रहरी टोलीले राक्सिराङ गाउँपालिका–५, चैनपुर मा चेकजाँचका क्रममा उक्त गाडीलाई नियन्त्रणमा लिएको थियो। प्रहरीलाई विशेष सूचना प्राप्त भएको थियो कि बोलेरो पिकअप गाडीमा गाँजा राखेर कैलाशबाट मनहरी तर्फ ल्याइँदै थियो। सोही सूचनाका आधारमा प्रहरीले गाडीलाई रोक्न खोज्दा, चालकसहित दुई जना व्यक्ति गाडी छोडेर भागेका थिए।
प्रहरीले गाडीलाई नियन्त्रणमा लिएर स्थानीय बासिन्दाको रोहबरमा खानतलासी गर्दा, गाडीको पछिल्लो भागमा लुकाइछिपाई राखिएको २१२ किलो गाँजा फेला परेको हो। बरामद गाँजा तथा गाडीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको छ।
गाडी छोडेर भागेका व्यक्तिहरूको पहिचान खुलाउने प्रयास भइरहेको र उनीहरूलाई पक्राउ गर्न प्रहरी सक्रिय रहेको मकवानपुर प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार, गाँजा तस्करीमा संलग्न व्यक्तिहरूको ठूलो समूह रहेको आशंका गरिएको छ।
प्रहरीले गाँजा तस्करीको नेटवर्कबारे थप अनुसन्धान गरिरहेको छ। यसअघि पनि मकवानपुर र आसपासका क्षेत्रमा लागुऔषध तस्करीका घटनाहरू भइरहेका थिए, जसलाई नियन्त्रण गर्न प्रहरीले निगरानी कडा बनाएको छ।