वीरगञ्ज, भदौ ३१
विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बुधबार पुनः पदभार ग्रहण गरेका छन्। महानगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा पदभार ग्रहण गर्दै सिंहले जनताको विश्वासलाई जिम्मेवारीका रूपमा लिएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
सिंहले महानगरपालिकाको सेवा प्रवाहलाई सहज, छिटो र प्रभावकारी बनाउने तथा विकास निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाउने बताए। सडक, नाला, खानेपानी, सरसफाइ, फोहोर व्यवस्थापन, शिक्षा, स्वास्थ्य र सार्वजनिक पूर्वाधारका क्षेत्रमा देखिएका समस्याको समाधानमा ध्यान दिने उनको भनाइ थियो।
आफूमाथि विभिन्न माध्यमबाट उठाइएका आरोप तथा आलोचनाबारे बोल्दै सिंहले तथ्य र प्रमाणका आधारमा मात्रै विषय उठाउन आग्रह गरे। सामाजिक सञ्जालमा फैलिने अपुष्ट सूचना र भ्रामक सामग्रीका आधारमा धारणा नबनाउन आग्रह गर्दै उनले आफ्ना कामको मूल्यांकन जनताले नै गर्ने बताए।
आलोचकहरूलाई तथ्यसहित बहसमा आउन चुनौती दिँदै सिंहले आफू जनतामाझ रहेर हरेक प्रश्नको जवाफ दिन तयार रहेको बताए। उनले महानगरपालिकाको काममा रचनात्मक आलोचना र सुझावलाई स्वागत गर्ने धारणा पनि व्यक्त गरे।
वीरगञ्जलाई व्यवस्थित र आधुनिक शहरका रूपमा विकास गर्न जनप्रतिनिधि, कर्मचारी, निजी क्षेत्र, व्यवसायी, नागरिक समाज, सञ्चारकर्मी तथा आम नागरिकबीच सहकार्य आवश्यक रहेको सिंहले बताए। अधुरा तथा सञ्चालनमा रहेका योजनाको समीक्षा गरी आवश्यक सुधारसहित अघि बढ्ने उनको भनाइ छ।
पुनः पदभार ग्रहण गर्दै सिंहले विवादभन्दा महानगरपालिकाको काम र नागरिक सेवामा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले वीरगञ्जवासीसँग साथ, सहयोग र सुझावको अपिल गर्दै जनताको विश्वास कायम राख्ने गरी काम गर्ने बताए।


