Birgunj News24
तिलावे खोलामा नेपाल–भारतको संयुक्त विपद् उद्धार अभ्यास सम्पन्न।

वीरगञ्ज, असार ३०
नेपाल–भारत सीमावर्ती क्षेत्रमा बाढी तथा डुबानबाट हुन सक्ने जोखिम न्यूनीकरण र उद्धार क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले पर्साको बिन्दबासिनी गाउँपालिका–४ छटघाट र भारतको बिहार राज्य पूर्वी चम्पारणस्थित सिसुवा ग्राम पञ्चायत–५ को तिलावे खोलामा संयुक्त विपद् व्यवस्थापन कृत्रिम अभ्यास (सिमुलेसन एक्सरसाइज) सम्पन्न गरिएको छ।
सशस्त्र प्रहरी बल (एपीएफ) नेपाल र भारतीय सशस्त्र सीमा बल (एसएसबी) को संयुक्त आयोजनामा सम्पन्न अभ्यासमा सीमा सुरक्षा गुल्म हे.क्वा. अलौका सशस्त्र प्रहरी नायब उपरीक्षक गोविन्दबहादुर केसी तथा एसएसबी ४७ बटालियन, जी कम्पनी सिसुवाका सहायक कमाण्डेन्ट संगम सिंह रावतको नेतृत्वमा संयुक्त टोली सहभागी भएको थियो।
अभ्यासका क्रममा दुवै देशका विपद् व्यवस्थापन तालिमप्राप्त सुरक्षाकर्मीले बाढी तथा डुबानमा परेका सर्वसाधारणको सुरक्षित उद्धार, खोज तथा समन्वयात्मक कार्यसम्पादनको व्यावहारिक प्रदर्शन गरेका थिए।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, भद्रभलाद्मी, सीमावर्ती क्षेत्रका स्थानीयवासी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सशस्त्र प्रहरी बल, नेपालले सीमावर्ती क्षेत्रमा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि, आपसी समन्वय सुदृढीकरण तथा जनधनको क्षति न्यूनीकरणका लागि यस्ता संयुक्त अभ्यास हरेक वर्ष सञ्चालन गर्दै आएको जनाएको छ। आगामी दिनमा पनि भारतीय समकक्षी एसएसबीसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै निरन्तरता दिइने सशस्त्र प्रहरी बल नं. १३ गण हे.क्वा. पर्साले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, असार ३०, २०८३  १०:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update